वीरगन्ज । कांग्रेस नेता डा. शशांक कोइरालाले आगामी चुनावमा गठबन्धन गर्नु मूर्खता भएको बताएका छन् । उनले कांग्रेसको एक सय दिने विशेष अभियान अन्तर्गत शनिबार वीरगन्ज महानगरपालिका ३० मा आयोजित कार्यकर्ता भेलामा पार्टीको आगामी रणनीतिका बारेमा आफ्नो धारणा प्रस्तुत गरे ।
कोइरालाले चुनावअघि गठबन्धन गर्नुभन्दा चुनावपछि सरकार गठन गर्ने कुरामा सहमति गर्नु उचित रहेको बताएका छन् । उनले भने, “चुनाव भइसकेपछि गठबन्धन गर्नु छुट्टै कुरा हो, तर चुनावमा जाँदा गठबन्धन गर्नु मूर्खता हो ।” उनले पार्टीलाई कुनै पनि हालतमा गठबन्धन गर्न नहुने जिकिर गरे ।
कोइरालाले कांग्रेसको भविष्यलाई एक्लै लड्ने कुरा राख्दै भने, “हामीले अबको चुनाव आफ्नै बलबुतामा लड्नुपर्छ । कांग्रेसले अबको चुनाव एक्लै लड्नुपर्नेछ ।” उनले चितवनको भरतपुर महानगरका मेयरको चुनावमा गठबन्धनको कारण प्रचण्डकी छोरीलाई जिताउन ठूलो गल्ती भएको उल्लेख गरे ।
कांग्रेसको उर्वर भूमिमा कांग्रेसले अधिक सिट जित्न नसकेको कारण विश्लेषण गर्नुपर्ने बताएका कोइरालाले आगामी चुनावमा चितवनबाट जितेका रवि लामिछानेको सिट रद्द भएमा पुन: चुनावमा कांग्रेसलाई सही रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कोइरालाले कांग्रेसको आगामी रणनीति र पार्टीको भविष्यबारे जोड दिँदै भने, “नेपालका विभिन्न ठाउँमा कांग्रेसले धेरै विकासका योजना ल्याएको छ, १८ अठार मेडिकल कलेज र २० विश्वविद्यालय बनाएका छन् । अबको चुनावमा हामीले भन्न सक्नुपर्छ कि कांग्रेसले मात्र विकास गर्न सक्छ ।”
कार्यक्रममा पर्सामा पार्टीको स्थिति बलियो रहेको कुरा उल्लेख गर्दै, कांग्रेसले आगामी चुनावमा सिट जित्न नसकेको कारणहरूको विश्लेषण गर्नुपर्ने कुरामा पनि उनले जोड दिए । कांग्रेस केन्द्रिय सदस्य अनिल रुङटाले पार्टीको विशेष अभियानको उद्देश्य पार्टीलाई जनतासम्म पुर्याउनु र आगामी चुनावमा पार्टीलाई बलियो बनाउनु रहेको बताए ।














