जनकपुरधाम । मधेश प्रदेशसभामा शनिबार अनौठो दृश्य देखियो । नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले सभामुखकै अगाडि आफैंलाई मोसो दल्दै वर्तमान राजनीतिक व्यवस्था र दलहरूको नैतिक पतनविरुद्ध प्रतीकात्मक विरोध जनाए ।
मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला बोल्ने अवसर पाएका सांसद अन्सारीले दल र सांसदहरू नैतिक रूपमा कमजोर बन्दै गएको टिप्पणी गरे । तर, उनी बोली रहँदा सभामुख रामचन्द्र मण्डलले उनको माइक बन्द गरेपछि अन्सारीले असन्तुष्टि जनाउँदै आफ्नो अनुहारमा मोसो दलेका हुन् ।
अन्सारीले भने, “यो सरकार प्रदेशका सांसदहरूको इच्छाले होइन, केन्द्रको आदेशमा बनेको हो । अब हामीले नैतिकता र स्वाभिमान दुबै गुमाइसकेका छौँ ।” उनले दल र नेतृत्वमा सिद्धान्त, मूल्य र जनप्रतिबद्धताको अभाव रहेको भन्दै राजनीतिक चरित्र नै क्षय हुँदै गएको आरोप लगाए ।
अचानक भएको उक्त घटनाले केही समयका लागि प्रदेशसभाको वातावरण तनावपूर्ण बनेको थियो । सभामुख मण्डलले पछि बैठक शान्त पार्दै कार्यसूची अघि बढाएका थिए ।














