काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाननेविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको थियो । यसअघि उनी पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेलाई बयानका लागि रुपन्देही,कास्की,काठमाडौं र चितवन पुर्याइसकिएको छ । रुपन्देहीको सुप्रिम सहकारी, पर्साको सानोपाइला र चितवनको सहारा चितवन सहकारीमा समेत लामिछाने मुछिएका छन् ।
कास्कीको सुर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिइसकेको छ । रवि लामिछाने मुद्धा चलेको ठाउँमा पुग्नुपर्ने नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विश्व अधिकारीले बताए । अदालतको आदेश अनुसार प्रहरी अघि बढ्ने समेत प्रवक्ता अधिकारीले बताए ।














