काठमाडौं । ठगी र आपराधिक विश्वासघातको आरोपमा नेपाल ट्रष्ट कार्यालय, दरबारमार्गमा सहसचिव पदमा कार्यरत रहिसकेका (हाल अवकाशप्राप्त) कर्मचारी लेखबहादुर कार्की पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका १५ निवासी ६६ वर्षीय कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार पक्राउ गरेको हो ।
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार, नेपाल ट्रष्टका नाममा दर्ता रहेको काठमाडौंस्थित जग्गा बद्नीयतपूर्वक र हानिनोक्सानी हुनेगरी भाडामा सम्झौता गरेको आरोपमा कार्कीलाई पक्राउ गरिएको हो । “शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ,” एसएसपी श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा लिज सम्झौतामा उल्लेख गरिएको कित्ता नं ४६०६ को सट्टा कित्ता नं ४६०५ समेत समेटी ट्रष्टको सञ्चालन समितिको निर्णय वा कानुनी आधारबिना सम्झौता गरिएको तथ्य फेला परेको छ । हाल अवकाश प्राप्त सहसचिव कार्कीको बयानका आधारमा थप अनुसन्धान अगाडि बढाइने सिआइबीले जनाएको छ ।
सिआइबीका अनुसार, वि.सं. २०७४ जेठ १४ गते गरिएको उक्त करार सम्झौता नेपाल ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी पुग्ने गरी गरिएको पाइएको छ । आज सार्वजनिक गरेको विवरणमा सिआइबीले भनेको छ- “नेपाल ट्रष्टको जग्गा लिजमा लिने लाभग्राहीलाई सहयोग गर्ने अधिकारी, विभिन्न ओहोदा तथा पदमा रहेका व्यक्तिहरूले गैरकानुनी रूपमा लाभ लिई ठगी र आपराधिक विश्वासघात गरेका छन् । सो कार्यबाट नेपाल ट्रष्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो आर्थिक हानि पुगेको देखिएको छ । सोमा संलग्न सरकारी कर्मचारी, पदाधिकारी तथा अन्य व्यक्ति, सहयोगी र मतियारहरूले समेत अनुचित लाभ उठाएको प्रारम्भिक अनुसन्धानबाट पाइएको छ ।”














