जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारको पेसागत सुरक्षाका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री सिंहले पत्रकारको सुरक्षाका लागि रु सात लाखको दुर्घटना बीमा र रु एक लाखको स्वास्थ्य बीमाको व्यवस्था गरिएको जानकारी गराए ।
कार्यक्रममा उनले मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणका लागि चालु आर्थिक वर्षमा रु ८० लाख बजेट विनियोजन गरिएको बताए । साथै, १० दिनभित्र गुठी विधेयक ल्याउन लागिएको र प्रदेश सरकारले एक निर्वाचन क्षेत्रभित्र पाँच किलोमिटर कालोपत्रे सडक तथा एक पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले प्रदेश सरकारले मधेसी जनताको भावनाअनुसार काम गरिरहेको बताए । उनले सवारीसाधन दर्तापछि १५ वर्षसम्म कर नलाग्ने गरी विधेयक पारित गरेको उल्लेख गरे । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले महासङ्घको भवन निर्माणमा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णले नवनिर्वाचित अध्यक्ष श्याम बन्जरालाई पद हस्तान्तरण गरे । निर्वाचन समितिका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।














