काठमाडौं । करिव पाँच करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०४६ सालमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठले २०७७ असारसम्मको अवधि बीच गैरकानूनी रकम आर्जन गरेको अख्तियारको दाबी छ । आयोगका अनुसार उक्त अवधिमा श्रेष्ठले ११ करोड २५ लाख रुपैयाँ मात्र आर्जन गर्नुपर्ने भएपनि उनीसँग १६ करोड १३ लाख रुपैयाँको सम्पत्ति फेला परेको छ ।
श्रेष्ठले गैरकानूनी रुपमा आर्जित रकम आफ्नो पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेकको नाममा राखेको पाइएको छ । यसै कारण उनीहरुलाई पनि प्रतिवादी बनाउँदै अख्तियारले चार करोड ८८ लाख रुपैयाँ बिगो मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठमाथि सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनामा ठेकेदारहरूसँग मिलेर ठूलो मात्रामा कमिसन लिएको आरोप छ । अख्तियारले लामो समयदेखिको उजुरी र अनुसन्धानपछि यो कदम चालेको हो । विशेष अदालतमा दायर मुद्दाले सरकारी सेवामा भ्रष्टाचारविरुद्धको लडाइँमा नयाँ उदाहरण स्थापित हुने आशा गरिएको छ ।













