वीरगन्ज । विशेष अदालतमा प्रतिकूल बकपत्र गरेपछि घुस दिनेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गराएको छ । अख्तियारले साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीलाई घुस दिने पर्सा जिल्ला पोखरिया नगरपालिका २ बस्ने चन्दन कुमार मिश्रविरुद्ध मुद्दा दायर गराएको हो ।
अख्तियारका प्रबक्ता नरहरि घिमिरेका अनुसार, बुधबार विशेष अदालतमा मिश्रविरुद्ध ९९ हजार रुपैयाँ बिगो बमोजिम जरिवानासहित भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय मागदाबी गरिएको छ ।
तत्कालीन प्रहरी निरीक्षक सुबेदीले मिश्रका भाइको साइबर अपराध मुद्दा मिलाई दिन्छु भनी ९९ हजार घुस लिएका थिए । घुस लिएको पुष्टि भएपछि अख्तियारले भदौ २७ गते तत्कालीन प्रहरी निरीक्षक सुबेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।
चन्दन कुमार मिश्रले भने अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण सरकारी साक्षीको रूपमा अदालतमा पेश भएका थिए । तथापि, अदालतमा मिश्रले आयोगमा दिएको बयानलाई प्रतिकूल बकपत्र गर्दै घुस दिने आरोपमा उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।













