काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको नियमविपरीत सामाजिक सञ्जालमा पोशाकसहित विभिन्न क्रियाकलापका तस्बिर तथा भिडियो अपलोड गर्ने १२० जना सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरेको छ ।
सशस्त्र प्रहरीले चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, छ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचरलाई कारबाही गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए ।
उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको प्रवक्ता न्यौपानेले बताए । संगठनको नियम उल्लङ्घन गर्ने जुनसुकै दर्जाका प्रहरीलाई नियमन गर्न सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढङ्गमा तस्बिर तथा भिडियो अपलोड गर्ने थप २८ जना सशस्त्र प्रहरीमाथि पनि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र पेश गर्न मातहत कार्यालयहरूलाई निर्देशन दिएको छ ।














