काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताविरुद्ध ५३ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई मनपर्ने पदस्थापन गरिदिने प्रलोभन देखाई घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ ।
उजुरीसँगै घुस लिँदाको तस्बिर, नोटहरूको सिरियल नम्बर उल्लेख भएको डायरी तथा अडियो प्रमाणहरू समेत आयोगमा बुझाइएको उजुरीदाताले जनाएका छन् । उजुरी अनुसार मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाइदिने आश्वासन दिँदै अर्को पटक २५ लाख रुपैयाँ घुस मागेको र त्यसको अडियो रेकर्डसमेत आयोगमा बुझाइएको छ ।
प्राप्त प्रमाणका आधारमा भ्रष्टाचार निवारण ऐन, २०५८ बमोजिम गुप्तामाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ । उजुरीदाताले मन्त्री गुप्तालाई तत्काल नियन्त्रणमा लिनु पर्ने र विषयमा निष्पक्ष अनुसन्धान गरिनु पर्ने आग्रह समेत गरेका छन् ।
यसअघि पनि सार्वजनिक भएको एक अडियो क्लिपमा मन्त्री गुप्ता र एक घरजग्गा व्यवसायीबीच रकम लेनदेन सम्बन्धी स्पष्ट संवाद भएको सुनिन्थ्यो । सो अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा व्यापक चर्चा र आलोचना भएको थियो ।
तर मन्त्री गुप्ताले आफूविरुद्ध लगाइएका सबै आरोपहरू निराधार भएको दाबी गर्दै आएका छन् । उनले सार्वजनिक अडियो र उजुरीलाई आफूलाई बदनाम गराउन गरिएको योजनाबद्ध षड्यन्त्र भन्दै खण्डन गरेका छन् ।
यस सम्बन्धमा अख्तियारले अहिलेसम्म प्रारम्भिक अनुसन्धान सुरु गरेको वा नगरेको भन्ने बारे कोही पनि अधिकारीले आधिकारिक प्रतिक्रिया दिएका छैनन् । तर उजुरीमा संलग्न प्रमाणहरूले विषयलाई गम्भीर बनाइरहेको छ । यस घटनाले सत्ता गठबन्धनभित्र पनि नैतिकता, पारदर्शिता र जवाफदेहिता सम्बन्धी प्रश्न उठाउँदै सार्वजनिक चासो बढाएको छ ।














