काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको केही सामाग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ । प्रहरीको विशेष टोलीले शुक्रबार दिउँसो ‘सरल शिक्षा एकेडेमी’ नामक कन्सल्टेन्सीमा छापा मार्दा एउटा प्रिन्टर बरामद गरेको हो ।
प्रहरी वृत सिंहदरबारका अधिकारीहरूका अनुसार, बरामद गरिएको प्रिन्टर सिंहदरबारबाटै चोरी भएको आशंकामा मुचुल्कासहित नियन्त्रणमा लिइएको छ । एकेडेमीकी सञ्चालक उषा भट्ट भएको खुलेको छ, तर उनलाई हालसम्म पक्राउ गरिएको छैन ।
प्रहरी स्रोतका अनुसार, सो कन्सल्टेन्सीमा कार्यरत केही कर्मचारीहरूले आन्दोलनका क्रममा सिंहदरबारभित्र प्रवेश गरी केही सामाग्री बाहिर ल्याएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेले यसअघि पनि उक्त एकेडेमीले सिंहदरबारबाट ल्याइएको अर्को प्रिन्टर फिर्ता गरिसकेको जानकारी दिए । “हामीले थप सामाग्रीको खोजी र यथार्थ पत्ता लगाउने काम अगाडि बढाइरहेका छौँ,” उनले भने ।
सिंहदरबारभित्र जेनजी आन्दोलनपछि भएको लुटपाट सम्बन्धी प्रकरणमा प्रहरीले अहिले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।














