काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतस्तरका एक कर्मचारी र एक लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडामा कार्यरत अधिकृत (छैटौँ तह) अमृत भेटुवाल र लेखापढी व्यवसायी तथा बिचौलिया खगेन्द्र पौडेलविरुद्ध सेवाग्राहीसँग घुस (रिसवत) लिएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले बिचौलिया खगेन्द्र पौडेललाई सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
सोही प्रकरणमा अधिकृत भेटुवाललाई पनि नियन्त्रणमा लिइएको थियो । अख्तियारका अनुसार अधिकृत भेटुवाल र बिचौलिया पौडेलबीच आपसी मिलेमतो तथा पूर्वयोजना अनुसार घुस लेनदेन भएको पुष्टि भएको छ ।
आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५ सय रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गरेको जनाएको छ ।













