सिराहा । सिराहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । आइतबार गाउँपालिकाकी उपाध्यक्ष गीता कुमारी सिंहले गाडी उपलब्ध नगराएको भन्दै गाडी तोडफोड गरेकी हुन् ।
अध्यक्ष यादवको बा २ झ ३६४३ नम्बरको स्कारपियो गाडी ढुंगाले हानेर तोडफोड गरिएको हो । उपाध्यक्ष सिंहले गाडी तोडफोडको स्वीकारोक्ति दिँदै घरबाट सदरमुकाम जाने क्रममा गाडी उपलब्ध नगराउँदा आक्रोशित भएर यस्तो कदम चालेको बताएकी छन् ।
तोडफोडका कारण गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ । यस घटनापछि स्थानीय तहमा विवाद र असन्तुष्टि चुलिएको छ । यस बारे थप अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ ।













