जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सह लेखापाल ब्रजेश कुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. का सञ्चालक लक्ष्मी नारायण यादव, पशु चिकित्सक रञ्जित कुमार अधिकारी र कृषि प्रसार अधिकृत अविनाश कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचारको आरोप प्रवक्ता नरहरि खतिवडाका अनुसार, कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार भएको देखिएको छ । नक्कली बिल भरपाईको आधारमा भुक्तानी लिएको, स्पेशिफिकेशनअनुसारका सामग्री खरिद नगरेको र सरकारी रकमको दुरुपयोग गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।
बिगो माग सचिव सिंहसहितका व्यक्तिहरूविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै कानुनी कारबाही अघि बढाइएको छ । सचिव सिंहविरुद्ध एक करोड रुपैयाँ बिगो दाबी गरिएको छ भने अन्य आरोपीहरूमाथि समेत अलग अलग आर्थिक मागसहित कारबाही प्रक्रिया अघि बढाइएको छ ।
न्यायिक प्रक्रिया जारी विशेष अदालतमा दायर भएको यस मुद्दाले सरकारी कार्यालयहरूमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रणमा ठूलो ध्यानाकर्षण गराएको छ । अनुसन्धानपछि प्रस्तुत प्रमाणका आधारमा दोषी ठहरिएमा सम्बन्धित व्यक्तिहरू कानुनी सजायको भागीदार हुनेछन् । यो घटनाले सरकारभित्रको पारदर्शिता र जवाफदेहितामाथि फेरि एक पटक गम्भीर प्रश्न उठाएको छ ।













