काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह आगामी शनिबार दशरथ रंगशालामा हुँदैछ, तर यस वर्षको दीक्षान्त समारोहका लागि गाउन, स्कार्फ र टोपी वितरणमा विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन् । दीक्षान्तको लागि विश्वविद्यालयले वितरण गरेको गाउन, स्कार्फ र टोपी च्यातिएको र पुरानो भएको आरोप विद्यार्थीहरूले लगाएका छन् ।
सोमबार, विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पुगेका एक विद्यार्थीलाई च्यातिएको टोपी वितरण गर्दा, उनले फिर्ता ल्याएर नयाँ टोपी लिन चाहँदा कर्मचारीले आनाकानी गरे । अन्य विद्यार्थीहरूले गाउन र टोपी सानो वा ठूलो भएको भन्दै साट्न पनि नपाएको गुनासो गरेका छन् ।
विद्यार्थीहरूको अपेक्षा थियो, पैसा तिरेपछि नयाँ गाउन र टोपी प्राप्त हुनेछ, तर विश्वविद्यालयले पुरानै गाउन र टोपी वितरण गरेको छ । एक विद्यार्थीले भने, “पैसा तिरेपछि नयाँ कपडाको आशा गरेका थियौं, तर पुराना कपडा लगाउनु पर्ने भयो । यो दीक्षान्तको नाममा लुटधन्दा भइहाल्यो ।”
यस वर्षको दीक्षान्त समारोहमा १४ हजार ३०७ विद्यार्थी भाग लिनेछन् । यद्यपि, ७४ हजार ७४९ विद्यार्थी दीक्षान्तका लागि योग्य थिए । दीक्षान्तका लागि गाउन, स्कार्फ र टोपीको नाममा विश्वविद्यालयले वर्षेनि लाखौँ रुपैयाँ संकलन गर्दछ ।
विद्यार्थीहरूको अनुसार, यदि विश्वविद्यालयले कपडासँगै झोलाको पनि व्यवस्था गरेको भए, विद्यार्थीहरूलाई केहि सहज हुने थियो कि ! यस्तै आज लामो लाइनमा बसेका विद्यार्थीहरूले कपडा नपाउँदा रित्तो हात फर्किनु परेको छ ।
मास्टरका विद्यार्थीहरुको कपडा सकिएको भन्दै फिर्ता पठाइएको हो । लामो लाइन बसेका विद्यार्थीहरुलाई वितरण कर्ताद्वारा हकार्दै भोलि विहान १० बजे आउनु भन्दै फिर्ता पठाइएको थियो ।
यसरी, विद्यार्थीहरूको असन्तुष्टि र विश्वविद्यालयको व्यवस्थापनका बारेमा प्रश्न उठेका छन् । दीक्षान्त समारोहको मोडल परिवर्तन गर्ने आवश्यकताका बारेमा गम्भीर बहस सुरु भएको छ । यस वर्ष पनि विद्यार्थीहरूको अपेक्षा पूरा हुने आशा झन कम भएको देखिन्छ ।













