काठमाडौं । सरकारी जग्गा व्यक्तिका नाममा पुर्याइ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले आठ जनालाई दोषी ठहर गरेको छ । आठ महिनाअघि दायर मुद्दामाथि फैसला गर्दै अदालतले चार जनालाई मुख्य कसूरदार र चार जनालाई मतियार मानेको हो ।
विशेष अदालतका अनुसार मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नायब सुब्बा अग्निबहादुर शाही दोषी पाइएका छन् । यसैगरी नापी कार्यालयका प्रमुख मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलमाथि पनि कसूर कायम गरिएको छ ।
यी व्यक्तिहरूको निर्णयमा जंगल कायम रहेको सरकारी जग्गा व्यक्तिका नाममा कायम भएको पाइयो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो ।
अदालतले मालपोत प्रमुख रसाइलीलाई १ वर्ष, मानबहादुर चन्दलाई ९ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको छ । मतियारको रूपमा बिन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला गरिएको छ ।
दोषी ठहर भएका मध्ये बिन्द्रा रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टरी १ महिना १५ दिन मात्र कैद बस्ने निर्णय विशेष अदालतले सुनाएको छ ।













