काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,१७९ जनाका लागि आवेदन आह्वान गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो ।
सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक र १४ जना चर्मकर्मीका लागि आवेदन माग गरेको छ ।
ती पदहरूमा आवेदन दिन योग्य र इच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म सशस्त्र प्रहरी बलले निर्धारण गरेका विभिन्न कार्यालयहरूमा उपस्थित भएर आवेदन फाराम बुझाउन सक्नेछन् ।
दरखास्त दस्तुर र योग्यता सम्बन्धी विवरण पद अनुसार फरक फरक छ । इच्छुक व्यक्तिहरूले सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट वा कार्यालयहरूबाट विस्तृत जानकारी लिन सक्नेछन् ।
सशस्त्र प्रहरी बलको यो भर्तीले रोजगारी खोजिरहेका नेपाली युवाहरूलाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।














