काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति नयाँ बानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा रितेन्द्र थापाको संयुक्त इजलासले अधिकारीलाई दोषी ठहर गरेको हो ।
अधिकारीले ‘द इन्स्टिच्युसन अफ इन्जिनियरिङ’ भारत कोलकत्ताबाट इन्जिनियरिङ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र नक्कली देखिएको विशेषको ठहर छ । ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ एवं त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले अधिकारीले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि गरेको विशेषको फैसलामा उल्लेख छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टाचार गरेको देखिन आएकाले विशेषले अधिकारीलाई ६ महिना कैद र दश हजार जरिवाना तोकेको छ । अधिकारीले ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ कोलकत्ताबाट इन्जिनियरिङ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेर २०६० माघ २० देखि इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड सहायकस्तर प्रथम तहको प्राविधिक सेवामा नियुक्त भई २०६१ फागुन ३ मा अधिकृत छैठौँ तहमा कार्यरत थिए ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सहायकस्तर पदमा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै गत असारमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।













